
राजधानीमा भएको आदिवासी जनजातिहरुको राजनीतिक सम्मेलनले यो देशका मुख्य तीन राजनीतिक दलहरु मुलुकलाई निकास दिन, संविधान दिन, देशलाई संघीय शासन प्रणालीमा लैजान असफल भएको हुनाले तीन दलको विकल्पमा नयाँ राजनीतिक शक्ति निर्माणको लागि आहृवान गरेको हो ।
· कहिलेसम्म निर्माण हुन्छ, त्यो राजनीतिक शक्ति ?
नयाँ राजनीतिक शक्ति निर्माणको लागि आम जनतामा, सबै राजनीतिक दलमा रहेका न्यायप्रेमी जनतामा हामीले आहृवान गरेका छौं । त्यसका लागि केही समय लाग्न सक्छ ।
· कति समय लाग्ला ?
ठ्याक्कै दिन भन्न त गाह्रो छ ।
· अहिलेको स्थितिमा नयाँ शक्ति निर्माणको आवश्यकता किन महसुस गर्नुभयो ?
देशमा अहिले जुन संवैधानिक संकट छ, यो संवैधानिक संकट कसका कारणले हो भन्दाखेरि तीन दलका सुशील कोइराला, झलनाथ खनाल र पुष्पकमल दाहालका कारणले भएको हो । यी दल र नेताहरु असफल र असक्षम भएको हुनाले उनीहरुको विकल्पमा नेपाली जनताले नयाँ राजनीतिक शक्तिको आवश्यकता महसुस गरेका हुन् ।
· त्यो शक्तिमा को–को अट्छन् ?
आदिवासी जनजातिको नेतृत्वमा यो देशका सबै उत्पीडित जाति, समुदाय, क्षेत्रका नेपाली जनताहरु नयाँ राजनीतिक शक्तिमा समाहित हुनेछन् ।
· कांग्रेस, एमाले लगायतका दलहरुमा रहेका असन्तुष्ट नेता सबै यसमा आउने भए ?
सबै राजनीतिक दलभित्र रहेका सबै विचारका मान्छेहरु जसलाई तीन दलले बिश्वास दिलाउन सकेनन्, ती तीन दलका नेता र सबै न्यायप्रेमी जनता नयाँ राजनीतिक शक्ति निर्माणको पक्षमा लागेका हुन् ।
· अरु पार्टीले मुलुकको समस्या समाधान गर्न सकेन भन्नुभयो । त्यसो भए जातीय पार्टीले चाहिं सबै समस्या समाधान गर्न सक्छ ?
आदिवासी जनजातिहरु कहिल्यै पनि जातीय राज्यको पक्षमा छैनन् । हामी जातीय राज्य मान्दैनौं । हामीले त सबै जातजाति र समुदायको पहिचानको कुरा गरेका हौं । एकल जातीय, हिन्दू खस अहंकारवादी राज्यको बिरुद्धमा हामीले समावेशी, संघात्मक राज्य खोजेका हौं ।
· तर पार्टी त जातीय हुने भयो नि हैन ?
हाम्रो पार्टी, राजकुमार लेखीले अगुवाई गर्ने पार्टी जातीय पार्टी हुनै सक्दैन । कुनै एउटा जातीयले, कुनै एउटा पार्टी बनाएर त्यसले मूल धारको नेतृत्व गर्छ भन्ने कुरामा म विश्वास गर्दिन ।
· त्यसो भने अब बन्ने नयाँ पार्टी हुन्छ चाहिं कस्तो ?
आदिवासी जनजाति पनि यही देशका नागरिक हुन् । त्यसकारण आदिवासी जनजातिको नेतृत्वमा पनि सबै जाति समुदाय अटाउन सक्छन् । सबै जाति जनजातिको नेतृत्व आदिवासी जनजातिले गर्न सक्छ । त्यसको उदाहरण हामी बन्न चाहन्छौं । त्यो बनाएर देखाउन सक्छौं ।
· यति धेरै पार्टी गठन भैसके, अब तपाईंहरुको पार्टीले जनताको मन जित्न सक्छ भन्ने आधार के ?
५० औं वर्षदेखि पुराना भैसकेका, खिइसकेका, मक्किसकेका, यथास्थितिवादी पार्टी, सामन्ती चिन्तन बोकेका पार्टी र तिनका नेताहरुबाट अब मुलुक चल्न सक्दैन भन्ने कुराको उदाहरण संविधानसभाको हत्या हो । त्यसकारण यी तीन दलको विकल्पमा नयाँ राजनीतिक शक्ति उदाउन लागेको हो । नयाँ शक्तिमा जनताले विश्वास गर्ने आधार भनेको यो देशमा अझै पनि ५० प्रतिशत भन्दा बढी जनता उत्पीडित छन् । यो उत्पीडन सहनेमा बाहुन, क्षेत्री पनि छन् । उत्पीडित सबै समुदायको लागि आदिवासी जनजातिले अभियान चलाउँछ । हाम्रो अभियान भनेको कुनै पनि जाति विशेषको बिरोधमा होइन । कसैलाई लखेट्न र धपाउन होइन ।
· नयाँ शक्तिको रणनीति चाहिं के हुन्छ ?
हामी सबै क्षेत्र, अंग र निकायमा सबैको प्रतिनिधित्व गराउने तथा नयाँ संविधान मार्फत सबैको मुद्दा सम्बोधन गर्ने मुख्य उदेश्य बोकेर नै अगाडि बढ्नेछौं ।
No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।